काउलि बुडिसङ्गको भनाभन
बिहानै उठेर आँखा मिच्दै तरकारि किन्न गएँ। अकसर बिदाको दिनमा तरकारि किन्न जाने पालो मेरो पर्छ। साहुजि जाल थापेर बसेको बल्छि खेल्ने मान्छे जसरि चनाखो भएर बसेका रहेछन्।
सोधेंः साहुजि, तरकारिहरु के के छन त?
साहुजिः हेर्नुस न यिनै त हुन्। काउलि राम्रो छ आज, तेहि लैजानुस्।
तरकारि राखेको ठाउँमा गएर हेरें। हैन पात र डाँठ मात्रै पो छ त। हैन साहुजि, काउलि राम्रो छ भन्नु भाथ्यो। खै त, पात र डाँठमात्रै छ। गुन्द्रुक बनाउन हो कि?
पात पन्छाएर हेर्नु न, देखिहाल्नुहुन्छ नि।
पातमा समातेर अलि वर तानें। केलाए जसरि हेरें। तल एउटि सानि काउलि बुडि निचिक्क हाँसि। ए रैछ रैछ। तर म कन्फ्युज भएँ, काउलि किन्दा पात फ्रि हो कि पात किन्दा काउलि फ्रि हो। अझै काउलि बुडिले मलाइ बालै दिन्न त।
हैन किन ठस्किन्छ्यौ? लगेर मर्याकमुरुक पकाएर खाइदिन्छु अनि थाहा पाउँछ्यौ। पातको फेदैमा लुकेर बसेकि काउलि बुडिलाइ धम्क्याएँ।
हिम्मत छ? तिमि जस्ताले हामिजस्तालाइ नताके पनि हुन्छ। मेरा छिमेकिहरुतिर आँखा लगाए हुन्छ, मलाइ हैन।
ए बा। एकै सासमा उनले मलाइ खङ्ग्रङ्गै बनाइ दिइ गाँठे।
पख एकैछिन। पातमै समातेर काउलि बुडिलाइ साहुजिको काँटामा पछारेँ। १ किलो २०० ग्राम, अर्थात्, १५० रुपैयाँ। साहुजि गोल्डेन टिथ देखाउँदै मुसुक्क हाँसे।
मैले गोजा छामेँ। हिजो खाजामा ७० को मः मः खाएर बाँकि रहेको ३० थियो। अब फसाद पर्यो।
म निच्रिक्क परेको देखेर काउलि बुडि मुसुक्क हाँसि। मैले भनेको होइन, मलाइ नताक भनेर। अब नेपाल आइडल नसकिउञेल हाम्रोतिर पाइला नबढाएपनि हुन्छ, नाक बङ्याउँदै भनि। हैन थाहा छैन कि के हो, अस्ति हाम्रै खेतबाट गएर एउटि काउलि बुडिले त्यत्रो धमाका मचाइदीन्। त्यसपछि हाम्रो भाउ बढेको बढ्यै। लत्रङ्ग परेको कपाल मिलाइ उसले।
हैन, काउलि बुडिले पनि गित गाउन जन्छिन र भन्या? मलाइ बिस्वास नलागेर पसलेलाइ सोधें।
हो नि हजुर। काउलि बुडि त सार्है कडा रहिछिन्। तेसैको असर त हो नि अहिले यिनिहरुलाइ छोइनसक्नु भएको, पसले अलि नर्भस हुँदै भन्यो। सायद थाहा पायो होला, मेरो गोजाले काउलि बुडिलाइ लैजाने हिम्मत गर्न सक्दैन भनेर।
ठिकै छ। प्लाष्टिकमा हालिसकेको काउलि बुडिलाइ त्यत्तिकै छाडेर गोजाले धान्ने एउटा पुन्टे बन्दा किनेर आफ्नो बाटो लागें। मनमनै भनें, पख्, काउलि बुडि, २ महिनापछि मैले जानेको छु, तमिलाइ कसरि मर्काउनु पर्छ।
Comments
Post a Comment