अमरबोटे बाजे र नाउरि दोभान
घुमन्ते दैनिकिको सिलसिलामा अकसर म ति बाजेकोमा बास बस्न पुगिरहन्थें। बाजेलाइ म आउँदै छु है, केहि पाहुनाहरु लिएर भनेर फोन गर्थें, जानुभन्दा अघि। उहाँको तँगारोमा पुग्दा झ्याउँकिरिहरुले झमक्कै साँझ परेको जानकारि दिन्थे। तै पनि बाजेका ७० बर्षे आँखा हामि आउने बाटोम अटक अविचलित मुद्रामा केन्द्रित भइरहेका हुन्थे।
बाजे निकै मिजासिला र सरल दैनिकिको हुनुहुन्छ। उहाँको २ छोरि अनि १ छोराको बिहे भइसकेको छ र अब १ छोरोको बिहे गर्न बाँकि छ, जो कतारको राजधानि दोहामा विगत ३ वर्षदेखि कामको सिलसिलामा छन्। बेला बेला फोन गर्ने, कहिले के कहिले के उपहारहरु बाजेलाइ पठाइरहदो रहेछ। बाजेले आफ्नो कान्छो छोरोको फोटो देखाउँदै हामिलाइ भन्नुभएको।
तर के गर्नु बाबु, आजकालका केटाकेटिहरु गाउँमै बस्दैनन्, अझ गाउँमा मात्रै कहाँ हो र, देशमै बस्दैनन्। बाजे एकाएक खिन्न देखिनुभो। बुढेसकालको साहारा त कता हो कता मर्ने बेला हामिलाइ बोकेर जलाउन पनि कसलेपो लगिदेला, बाजे अमिल्लिनुभो।
ए शम्भुको बा, अब ज्याट ज्याइ पर्ले, छिट्टो रानि, बज्यैले मगर भाषाबाटै हामिलाइ लिएर आउन बाजेलाइ भन्नुभयो। भान्छामा छिर्नै नसकिने धुवाँको मुस्लोलाइ छिचोलेर हामि जसो तसो भात खाने मेसोमा पुग्यौं।
के गर्ने बा, बज्यैले कुरो सुरु गर्नु भो। यत्रो घर छ, बस्ने जम्मा हामि बुडा बुडि। छोरा छोरि, नाति नातिना भए पनि उनिहरुको अनुहार हेर्न चाडपर्व नै कुर्नुपर्छ, गुन्द्रुकको झोल बटुकिमा खन्याउँदै भन्नुभयो।
यस्तै हो आमै, सबै कुरा हामिले चाहेको मात्रै कहाँ हुन्छ र, मैले विदितै रहेको सान्त्वनाका केहि शब्दहरु खर्चिएँ। अहिलेको जमानामा घर गाउँमै बसेर जिबिका चलाउन मनले नमान्दो रहेछ। मलाइ नै हेर्नु न, म पनि घर पुग्ने वर्षमा ३ पटक नै त हो नि, मैले आफ्नै उदाहरण दिएर बज्यैलाइ खुसि बनाउन खोजें।
आ, बाबु। हाम्रो कान्छो, मइ तिम्लाइ कति पैसो चाहियो, के बनाएर लाउन मन छ भन, म पैसो पठाइदिन्छु भन्छ। घर खर्च त हामि बुडाबुडिकै कमाइले चलेकै छ, वर्षमा ५-७ वटा खसिबोका बेचिन्छ। आफुलाइ आफ्नु छोराछोरि सङ्गै भइदिए हुन्थ्यो जस्तो लाग्छ। पैसाले गहना पो किन्न सकिन्छ र, न्यास्रो मेटाउन त सकिन्न नि, बज्यै अलि भावुक बन्नु भो।
निल्न लागेको भात भित्र छिर्नै सकेन, घाँटिको एेंठनले। कति न्यास्रिएकि बज्यै भने, तारान्तार एउटै कुरो दोहोर्याइरहनु भयो।
सबैले सङ्गै बसेर खाना खायौं। पुग्यो भन्दा भन्दै पनि बज्यैले ढेंडोको एउटा डल्लो मेरो भागमा हालिदिनुभो। आ, खाउ नानि खाउ, बेला बेला आइरन्छौ, आफ्नै छोरो आएजस्तो लाग्छ। बज्यैले फेरि सिसि कोट्याएर २ चम्चा घ्यु हालिदिनुभो।
भोलिपल्ट बिहानै उठेर आफ्नो गन्तब्यतर्फ प्रस्थान गर्नुथियो। बाजे बिहानै उठेर भकारो सोहोर्ने, भैंसिलाइ कुँडो पानि दिने र नजिकैको खस्रेतोको बुटोबाट एक अङ्गालो डालि लुछेर भैंसिलाइ हालि, दुध दोहेर हातगोडा धुन आइसक्नु भएछ।
हामि उठेर आफ्नो पोको पुन्तुरो बाँध्यौं। हात मुख धुने, पाइखाना जाने काम सकेर भान्छामा गयौं। बज्यैले एक कित्लि चिया उमाल्नुभएको रहेछ। दुधै दुधको चिया, मेरि आमै, बज्यैले त्यसमाथि माया गरेर चिनि खत्याउनु भएछ। मह खाएजस्तो।
हिड्नुअघि बाजे बज्यैसङ्ग बिदा माग्यौं। बज्यैलाइ हातमा सेवाबापत केहि राखिदिन खोजें, तर मान्नुभएन। ह्या नानि, कता पैसो लिनु हो तपाइँसङ्ग, बज्यैले हात दिनै मान्नुभएन।
तेसो होइन नि आमै, हामि सधैं आइरहने मान्छे, तेसो गर्नुभयो भने त अर्कोफेरदेखि आइँदैन नि, मैले भनें। त्यसपछि उहाँले स्विकार गर्नुभयो। हिंड्ने बेलामा बज्यै भावुक भएर भन्नुभयो, आउँदै गर्नु है बाबु, आफ्नै छोरो आएजस्तो लाग्छ, नियास्रै मेटिन्छ। बाजे त अलि वरैसम्म छाडिदिन आउनुभयो। अलि वरबाट थुप्रै ठाउँहरु देखिन्छ। बाजेले चोरअौंलाले देखाउँदै भन्नु भोः उ त्यो खोला नदिमा मिसिएको ठाउँ छ नि, त्यो निउरि दोभान हो बाबु। हामि मरेसि कसले पो तेहा पुर्याउला र खै, कोहि पनि लक्का जवान गाउँमा छैनन्।
ल बाबु राम्रो सङ्ग जानु है, बाजे फर्किनुभयो।
दुइ खुट्टे यात्रालाइ अगाडि बढाउँदै गर्दा बाजे र बज्यैका कुराहरु दिमागमा लमतन्न छाइरह्यो। क्षितिजमा देखिएका गणेश हिमाल अनि मनासलु लार्केपास पनि किन हो किन बडो फिक्का फिक्का लाग्यो । सोचें, साच्चै हाम्रा रमणिय गाउँहरु किन यसरि उजाड भएका होलान्, युवा विहिन। चैत मासको खडेरि जस्ता। जता जाउँ अलि अलि भुरा उमेर, बाँकि ५०-५५ कटेका। अमेरिका, अष्ट्रेलिया, युरोप, जापान अनि खाडि मुलुकमा पो स्थानान्तरण हुँदै छन त ए नेपालका रमणिय गाउँहरु। खै त ति मारुनि, लाहुरे बा को घरका रोधिहरु, कता विलाए झुरुमा अनि मादलुका मिठा मिठा तालहरु? कसले तन्काइदिने ८० कटेका बाजे बज्यैका अनुहारमा परेका हजारौं मुजाहरु? आखिर कसले?
एउटा चुच्चो ढुङ्गामा ठेस लागेर झन्डै लडिनछु। वह, म त तरङ्गमै पो भुलेछु। सायद यस्ता कुराहरु अब दिवास्वप्न होलान्। तर यो मन मान्दैन। लाग्छ, ति बाजेलाइ नाउरि दोभानसम्म लान गाउँमा सयौं युवाहरु हुनेछन्। रोजगारिहरु गाउँमै सिर्जना हुनेछन्। गाउँहरु एकपटक फेरि भरिभराउ र हराभरा हुनेछन्। यात्रा जारि छ।
Comments
Post a Comment