दशैंमा जखमले खसिको मायालुलाइ पत्र
मेरि प्यारि लाम्कानि माउ,
हत्या गरिँदै गरेको तिम्रो पतिको तर्फबाट अन्तिम सम्झना।
करिब २ महिना अगाडितिर म निकै खुसि थिएँ। मेरि परान प्यारिको काख, जता गएपनि हामि कहिल्यै छुट्टिने थिएनौ। अर्काकै घरमा भएपनि हामिलाइ आफ्नोपन सधैं मिलिरह्यो। मान्छेहरु आउँथे, सुम्सुम्याउँथे। दैनिक अर्चलेभिरमा चराउन लगिन्थ्यो। आहा, कति मिठा अर्चलका पातहरु,अनि त्यस्तै मिठा मसिना दानाहरु। म आफु नखाएर पनि तिमिलाइ ख्वाउन पाउँदा, कति प्रफुल्ल हुन्थ्यो मेरो मन।
तिमिले थाहा नै पाएनौ, म कतिखेर बेचिएँ। २।४ जना नौला मान्छेहरु हामि चरिरहेको ठाउँमा आउँदै गरेको देखेको थिएँ। तिमि कोल्टो पाखोमा चरिरहँदा मेरो मालिकले मलाइ गर्दनमा समातेर उनिहरुको जिम्मा लगाइदिए। एकपटक तिम्रो मुख हेर्न पनि पाइन, बिदा माग्न त परैको कुरा। बिन्ति त धेरै गरें, हिंड्नै मानिन। तर बनमासका सिम्किनाहरु निरन्तर बर्सिएपछि म सङ्ग अन्य बिकल्पनै रहेन।
त्यसपछि नयाँ घरमा लगियो। खोर नयाँ, साथि नयाँ, मालिक नयाँ। तिमि थिएनौ वरिपरि। निद्रै लागेन धेरै दिन। बिस्तारै बानि पर्यो। १ महिना अघिदेखि म अलि विशेष हुन थालें, खै किन हो। एकपलका लागि यस्तो लाग्यो कि मानव साँच्चैनै मानव भएछन्। निकै माया गर्दथे। मलाइ मेरो फेवरेट पपकर्न अनि उप्रिएका दालभात खान दिन्थे। म दिनदिनै मोटाउँदै गएको थिएँ। राति बस्न पनि निकै सफा र सुरक्षित खोरको व्यवस्था गरिएको थियो। सपना पनि कति राम्रा र रमाइला थिए भने, तिमिसङ्गै नहुँदाको छटपटाइ त्यसैको माध्यमबाट पुर्ति भैरहेको थियो।
आज म तिमिबाट धेरै टाढा छु, छ त केबल तिम्रो सम्झनाहरु, जसले मलाइ सधैं पिरोलिरहन्छ।
आज फुलपातिको दिन। हिजो करिब ५ घन्टा बसको डिकिभित्र कोचिएर म लगायत अन्य धेरै खसि प्रजातिहरु राजधानि ल्याइएका छौं। लामो यात्रा, भोको पेट अनि घुम्ति सडकका जोल्डिङहरुमा उफ्रिंदा उफ्रिंदा मलाइ पखाला लाग्यो । बिहानै खसिबजारमा झारियो। हामिलाइ धुलै धुलोले ढाकिएको सडकमा घन्टौं उभ्याएर राखियो। अन्तमा, एकजनाले आएर मलाइ उचाल्यो। अनि बाइकमा पछाडि बस्नेलाइ समाउन लगाएर लज्ञ्ो। थाहा छैन म अहिले कुन ठाउँमा छु। यो घरमा भएकाहरु मलाइ जेमराजको आँखाले हेर्छन्। भोलि पख तँलाइ भनेको जस्तो लाग्छ।
घरमा खस्याक खुसुक कुरा गरेको सुन्छु, कोहि मलाइ रोस्ट बनाउने भन्छन्, कोहि ग्रेभि अनि कोहि सुकुटि बनाउने भन्छन्। जे बनाएनि, बन्ने त मै हो नि।
ठिकै छ। मेरो लेखा यहिंसम्मको लागि रहेछ। यि मानवरुपि दानवहरु कहिल्यै नि नसुध्रने भए। अरुलाइ हत्या हिँसा भयो भनेर ठुला ठुला स्वर गर्नेहरु मलाइ कतिबेला चबाउँला भनेर कुरेर बसिरहेका छन्। निर्दयिहरु।
हिजोको निद्रा र थकाइ ले आज दिनैभरि सुत्न मन लागेको छ, तर भोलि त यि पापिहरुले मेरो बिभत्स हत्या गर्ने योजना बनाएका छन्, म कसरि निदाउँ, तिमि नै भन।
जति लेखेपनि सकिन्न यि मनुष्यरुपि दानवहरुका कुरा। म त मेरो मृत्यु कुरेर बसेको छु, तिमि राम्रो सङ्ग हाँसि खुसि बस्नु। तिमिलाइ अपार माया छ।
उहि तिम्रो,
जखमले खसि
जखमले खसि
Comments
Post a Comment