आमाको मुख हेर्ने दिन
मुख धुन जाँदा उसले पल्लो कोठामा Happy Mothers Day भनेर फोनमा कुरा गरेको सुन्यो। ला, आज त आमा ख्वाउने (आमाको मुख हेर्ने दिन) पो हो त। मुखै नधोइ हत्त न पत्त आएर मोबाइलमा वाइफाइ अन गर्यो र फेसबुक खोल्यो। थुइक्क झन अरुले भन्दा अगाडि आमाको फोटो राखेर Happy Mothers Day पोस्ट गरौंला भनेको। एक्लै भुत्भुतायो। ठिकै छ, आठ त बजेको रहेछ नि। अहिले गर्छु।
ओहो, सुरु पो कसरि गर्ने होला? हैन, राजुले कसरि लेखेको छ हेर्न पर्यो। ए, ए। बल्ल आइडिया आयो। उसले पनि तेसै गरि लेख्न सुरु गर्यो।
"आज आमाको मुख हेर्ने दिन, मलाइ जन्म दिएर उचित लालन पालन सहित यहाँसम्म आइपुग्न कति कष्ट सह्योउ होला। सधैंभरि तिम्रो छत्रछायाँमा रहन पाउँ। तिम्रो सुख दुखमा साथ दिन सकुँ। You are my best mother in the world. I love you mom. I miss you mom. My hero. My inspiration. You are my everything."
एलिने को फेसबुकको अङ्ग्रेजि स्टाटस पनि कपि गर्न भ्यायो, उसले।
अब आमाको ३-४ वटा फोटोहरु राख्न पर्यो अनि अस्तिनै आमाको नामबाट आँफैले बनाएको फेसबुक आइडिमा ट्याग गर्नुपर्यो, उसले विचार गर्यो।
मोबाइलको Gallery मा गएर आमासङ्गै खिचाएको फोटो search गर्न थाल्यो। उ त झसङ्ग भयो। ला एउटा पनि छैन त आमासङ्गै खिचेको फोटो। साँच्चि, आमासङ्ग त उसले कहिले नि फोटो खिचेकै थिएन। थुक्क, दशैंमा घर जाँदा पनि खिचेन छु, मनमनै भन्यो। अब के गर्ने होला?
अब तेत्रो मिहेनत गरेर स्टाटस लेखिसकियो, पोस्ट त गर्नै पर्यो। फेरि साथिभाइले पनि के भन्लान, एउटा स्टाटस पनि नराख्दा, आमालाइ माया नै गर्दो रहेनछ भन्ने हुन्छ। उसले निकै समय लगाएर आमाको ३ ओटा फोटा अपलोड गर्यो।
अब बज्न थाल्यो, फेसबुक नोटिफिकेसन। लाइक र कमेन्ट भटाभट। उसले पनि लाइक गर्दै गयो, साथिभाइ को फेसबुकमा। १ घन्टा तेत्तिकै बितेछ। घडि हेर्यो। साला ९ बजिसकेछ, आफुले मुख पनि धोएको छैन।
आज भात पनि बाहिरै हुने भो। अब त पकाएर खान भ्याए पो।
अफिसमा दिनभरि कमेन्ट र लाइक गन्दै, घर फर्किने बेला भएछ। फेसबुकमा साथि नै थोरै भएर होला, अरुको भन्दा ५०-६० लाइक कमनै छ।
बेलुका खाना खाएर सुत्न जाँदा उसले सोच्यो, हैन दिदिहरु आमाको मुख हेर्न आएछन कि नाइँ? दिदिकै फेसबुकमा त आमाको फोटो लाइक गरेकै थियो। उसले झ्वास्स सम्झियो, ला आमासङ्ग त झन आज कुरै गरेन छु। फोन गर्नु पर्यो, म पनि कस्तो होला?
निकै बेर घन्टि बजेपछि आमाले फोन उठाउनु भयो। बाबु, सन्चै छौ ? फेरि आमाले नै जित्नु भो, सन्चो, बिसन्चो सोध्न।
अँ, सन्चै छु।
साँचि, आमा, दिदिहरु आउनु भयो त? मैले त कामले गर्द फोन गर्न पनि भ्याइन।
माइलि त आइ, अरु को बाटो नै टाढा, कसरि आउन?
आमाको स्वर अलि भिन्दै लागेर उसले सोध्योः हैन, सन्चो छैन कि कसो तपाइँलाइ?
विहानै देखि पखाला लागेर, एकछिन भो, अलि ठिक भा छ।
एकछिन दिदि सङ्ग कुरा गर्यो। आमालाइ सारै नै चापेको बल्ल थाहा भयो। ला हो र? उसो भए म भोलि नै घर आउँछु। फोन काटिएपछि, मोबाइलमा फेरि, टुङ गर्यो। फेसबुकमा अर्को कमेन्ट आएको रहेछ।
उसले कमेन्ट पढेन। स्टाटस इडिट अप्सनमा गयो र आफ्नो स्टाटस डिलिट गर्यो। एकजोर कपडा झोलामा हाल्यो अनि अरु केहि कुराहरु पनि। मनमनै सोच्यो, भोलि कतिखेर घर पुग्छु होला?
................................................................................
................................................................................
के तपाइँले आज आफ्नि आमालाइ फोन गर्नुभयो?
Comments
Post a Comment